उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवम् भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न
काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले नववर्ष २०८२को शुभकामना, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा स्ववियु भित्तेपात्रो २०८२को लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार बानेश्वर बहुमुखी क्याम्पसको हलमा आयोजित कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको प्रमुख आतिथ्य तथा क्याम्पसको प्रध्यापक संघका कार्यवहाक अध्यक्ष रामेश्वर काफ्लेको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता स्ववियु अध्यक्ष भुमिराज अधिकारीले गरेका थिए भने कार्यक्रम सन्चालन स्ववियु सचिव रविन रिजालले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. घमानसिंह खड्काले क्यालेण्डर भनेको समयको रेखा भएको बताए । स्ववियुले बर्षदिन भित्र गरिने विभिन्न कार्यक्रम समेटिएको क्यालेन्डरको छुट्टै महत्त्व रहेको स्पष्ट गरे । अनुशासन सबैभन्दा ठूलो सफलताको कडी भएकाले विद्यार्थी अध्ययनशील, जिज्ञासु र अनुशासित हुनुपर्ने उनले जोड दिए ।
त्यस्तै विशेष अतिथी प्रध्यापक संघका कार्यवहाक अध्यक्ष रामेश्वर काफ्लेले समेत कार्यक्रममा शुभकामना दिएका थिए।
यसैगरी स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीले आफू विद्यार्थीको साथ, सहयोग एवम् मायाले अध्यक्ष भएको बताए । विद्यार्थीहरुलाई सीप सिकाउदै उत्पादनमा जोड्ने र विद्यार्थीमैत्री स्ववियू बनाउने साथै आफूले विद्यार्थीका हरेक समस्यामा साथ दिने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका पदाधिकारीहरु, सदस्यहरु, क्रियाशित संघठनका प्रतिनिधि, शिक्षक शिक्षिकाहरु विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।