काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ परिवार सहित पर्वतको कुस्मामा रहेको ‘द क्लिफ’ पुगेका छन्। पारिवारीक भ्रमणका लागि मदनकृष्ण छोरा यमन श्रेष्ठ र बुहारी रिंकु बज्राचार्य श्रेष्ठ सहित क्लिफमा पुगेका हुन् ।
पारिवारीक भ्रमणका लागि पोखरामा रहेको बेला कुस्मामा रहेको क्लिफको भ्रमणमा पुगेको यमन श्रेष्ठले जानकारी दिए । सोमबार दिउँसो पुगेको श्रेष्ठको परिवारले क्लिफमा रहेको रेष्टुरेन्टमा खाना खाएर फर्किएको उनले बताए । ‘हामी यहाँ आइरहेका हुन्छौं,’ यमनले भने, ‘यहाँको हरियाली वातावरण र स्वच्छ हावाले लोभ्याइरहेको हुन्छ ।’समय अभावको कारण बन्जि सहितका अन्य गतिविधि गर्न नभ्याएको उनको भनाइ छ ।
क्लिफका अध्यक्ष राजु कार्कीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको परिवार पारिवारीक भ्रमणका लागि आएको जानकारी दिए । ‘उहाँहरु आएर हाम्रो रेष्टुरेन्टमा खाना खाएर फर्किनु भयो,’ अध्यक्ष कार्कीले भने, ‘समय अभावको कारण स्काई क्याफेमा जान पाउनु भएन ।’
एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन । कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ ।
बञ्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काई चेयरलगायत गतिविधि सञ्चालनमा छन ।