बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बिल गेट्सले आफ्नो सबै सम्पत्ति दान गर्ने

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौँ । माइक्रोसफ्टका संस्थापक अरबपति बिल गेट्सले आगामी २० वर्षभित्र आफ्ना करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्।

उनले यससँगै सन् २०४५ डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन बन्द गरिने पनि जानकारी दिएका छन् ।

बिहीबार उनले आगामी २० वर्षभित्र आफ्नो लगभग २०० अर्ब डलर बाँड्ने योजना बनाएको सीएनएनले समाचारमा उल्लेख गरेको छ।

समाचारका अनुसार उनले आगामी डिसेम्बर ३१, २०४५ मा गेट्स फाउन्डेसन पनि बन्द गर्ने योजना बनाएका छ‍न्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्वास्थ्य, विदेशी सहायता र अन्य सार्वजनिक सहायता कार्यक्रमहरूको लागि कोष कटौती गर्न काम गरिरहेको बेला उनकाे यो घोषणा आएको हो।

सन् २००० मा पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर गेट्स फाउन्डेसन स्थापना गरेका गेट्सले उक्त संस्थालाई आफ्नो मृत्युपछिसम्म पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएका थिए। तर अहिले उनले बाँकी जीवनकालमै सबै सम्पत्ति समाजसेवामा खर्च गर्ने निर्णय गरेका हुन् ।

विश्वको सबैभन्दा ठूलो परोपकारी संस्थाहरू मध्ये एक, गेट्स फाउन्डेसनले आफ्नो स्थापनादेखि नै १०० अर्ब डलरभन्दा बढी दान गरिसकेको छ ।

गेट्सको हालको कुल सम्पत्ति १०८ अर्ब डलर छ। ब्लूमबर्गको बिलियनेयर इन्डेक्सले उनलाई विश्वको पाँचौं धनी व्यक्तिको रूपमा राखेको छ।