काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको हो । संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा ढिलाइ भएको भन्दै थापाले अभिव्यक्ति दिएका थिए ।
अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदन आइतबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो। निवेदनको पहिलो पेसी मंगलबार तोकिएको छ।
उनको उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अदालतमा मुद्दा दर्ता भएको हो ।
थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरेको दाबी गर्दै भनेका थिए, ‘अहिले सम्मानीत अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई दुई/तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ। कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ।’
उनको यो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको भन्दै कारबाहीको मागसहित शुक्रबार निवेदन पेस भएको थियो।