काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी पार्टी सरकारमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन्।
बिहीबार सिन्धुपाल्चोकको चौतारामा पार्टीनिकट वाइसिएल नेपालको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले ०८४ सम्म सरकारमा नजाने अडान रहे पनि व्यवस्थामाथि नै प्रश्न उठेकाले त्यसलाई जोगाउन सरकारमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो ।
माओवादी सरकारमा गए पनि जनताको काम गर्छ भन्ने स्थापित भएको उनको जिकिर थियो ।
‘सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र २०८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ,’ उनले भने।
उपमहासचिव पुनले ओली नेतृत्वको सरकारमै सामेल हुने या भिन्नै समीकरण बन्ने भन्नेबारे प्रष्ट बताएनन् । उनले वर्तमान गठबन्धन सरकार विचौलियाले बनाइदिएको आरोप लगाउँदै यो सरकारको आयु धेरै समय नरहेको भने बताए ।
नेता पुनले ०८४ को चुनावमा भने माओवादी एक्लै लड्ने कुरामा कुनै द्विविधा नभएको बताए ।