काठमाडौं । काठमाडौंको सडककेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलन आज (शुक्रबार) २४ औं दिन पनि जारी रहने छ ।
शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् ।
अध्यक्ष सुवेदीले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ । साथीहरुको अनुशासित र संयमित व्यवहार सहितको सक्रिय सहभागिताले आन्दोलनको गरिमा बढाएको छ ।’ उनले शिक्षकहरूलाई बिहान ११ बजेदेखि २ बजेसम्म आन्दोलन स्थलमै रहन पनि आग्रह गरेका छन् ।
‘हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ’ उनले भनेका छन्, ‘अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।’
यसैबीच सर्वोच्च अदालतले विद्यालय बन्द नगर्न बाध्यकारी आदेश दिएको छ । बिहिबार न्यायाधीश नहकुल सुवेदीले यस्तो आदेश दिएका हुन् ।
अदालतले आन्दोलनरत शिक्षकहरुका जायज मागलाई सरकारले पूरा गरी ३ दिनभित्र विद्यालय फर्किने वातावरण तयार गर्न आदेश दिएको हो । त्यस्तै, तोकिएकै समयमा परीक्षा सञ्चालन गर्न र नतिजा प्रकाशन गर्न समेत आदेश जारी भएको छ ।