काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको गैरजिम्मेवारी र शिक्षकहरूको असंवेनशीलताका कारण पचासौं लाख विद्यार्थीको भविष्य जोखिममा परेको बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै पूर्वमन्त्री भट्टराईले सरकारलाई सबै माग पूरा गर्न गाह्रो भए पहिले सहमति भैसकेका कुरा तत्काल लागू गर्ने र बाँकी निश्चित अवधिभित्र गरिसक्ने प्रतिवद्धता गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘कति भयंकर विनाशकारी र क्रूर युद्ध त वार्तासम्वाद र लेनदेनबाट हल हुन्छ भने देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरू वीचको जुँगाको लडाइँ गम्भीर वार्ता र केही समयको अघिपछिबाट किन हल हुन सक्दैन ?’
उनले सरकारलाई सबै माग पूरा गर्न गाह्रो भए पहिले सहमति भैसकेका कुरा तत्काल लागू गर्ने र बाँकी निश्चित अवधिभित्र गरिसक्ने प्रतिवद्धता गर्नुपर्ने बताए । शिक्षकहरूलाई पनि ‘गुरू ब्रह्मा, गुरू विष्णु, गुरूदेव महेश्वर’ भन्ने संस्कृत श्लोक उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारीबोध गर्न आह्वान समेत गरेका छन्।
साथै पूर्वप्रधानमन्त्री भट्टराईले १२ कक्षाको परीक्षा र विद्यार्थी भर्ना अभियान जस्तो संवेदनशील समयमा आन्दोलनबाट एक कदम पछि हट्न आन्दोलनरत शिक्षकलाई सुझाव दिएका छन्।