काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरू बीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा शनिबार साँझ छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्याउनेहरू प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्रपक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।
उनले भने, ‘आजको छलफल समसामयिक राजनीतिक विषयसँग गाँसिएको छ । देशको विद्यमान परिस्थितिको बारेमा तीन शिर्ष नेताहरु प्रधानमन्त्रीको नेतृत्वमा छलफल भयो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शिर्ष नेताहरुबीच विद्यमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ । संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ ।’