काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी, पूर्व पदाधिकारी र मन्त्रीहरुको संयुक्त बैठक सकिएको छ ।
देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा सरकारको प्रभावकारिताको विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफूहरूको ध्यान सरकारलाई राम्रो बनाउनेतर्फ रहेको बताए ।
सरकार सञ्चालनमा कांग्रेस र एमालेबीच अलिक बढि छलफल हुनुपर्ने निश्कर्ष निकालिएको पनि महतले जानकारी दिए।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढल्नेबारे दिएको अभिव्यक्तिलाई महतले प्रतिपक्षीको धर्म नै भएको भन्दै स्वभाविक रुपमा लिनुपर्ने बताए । तर, प्रचण्डले भन्नेबित्तिकै सरकार ढल्ने वा बन्ने नहुने उनको टिप्पणी छ ।
उनले भने,‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो, प्रचण्डले भनेको कुरामा टिप्पणी छैन । उनले के भने भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’ यद्धपी सरकार सञ्चालनको विषयमा दुवै दलबीच छलफल गरेर महत्वपूर्ण निर्णय लिइनुपर्ने उनले सुनाए ।
अध्यक्ष प्रचण्डले केही दिनयतादेखि कांग्रेसभित्र असन्तुष्टि बढेको भन्दै सरकार ढल्ने दाबी गर्दै आएका छन्।