काठमाडौं । आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार दुई जित निकालेको नेपाल आज (बुधबार) हङकङसँग खेल्दैछ ।
यसअघि नेपालले सोमबार ओमानलाई नौ विकेटले हराएको थियो भने पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ-लुइस (डिएलएस मेथोड)का आधारमा पाँच रनले पराजित गरेको थियो ।
लगातार दुई जित निकालेको नेपालले चार अंक बनाएको छ । नेपालले तेस्रो खेल आज (बुधबार) हङकङसँग खेल्दैछ । छनोटमा नेपाल, युएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता छ ।
नेपाली टोली नरेन्द्र भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन्।
यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा टोलीमा हुनुहुन्छ । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो ।
त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो । सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठपटक युवा विश्वकप खेलिसकेको छ । नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन् ।
यो छनोटको विजेतामात्र सन् २०२६ मा जिम्बाबे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ ।