काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ताविमुख हुनु परेको पिडा पोखिन थालेको छ ।
सत्ताबाट बाहिरिनुपरेको वर्षदिन नबित्दै ‘प्रचण्ड’मा फेरि सत्ताको छटपटी सुरु भएको छ । बिहीबार एक टेलिभिजनसँगको अन्तवार्तामा प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गर्न तयार रहेको बताए ।
गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारी सहितको सात बुँदे सहमति भएको थियो । दुई दलबीच भएको सोही सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३१ गते प्रधानमन्त्री बने। संसद्का दुई प्रमुख ठूला दलबीच सहमति भएसँगै कहिले कांग्रेस त कहिले एमालेलाई साथ लिएर सत्ताको नेतृत्व गरिरहेका प्रचण्ड सत्ताविमुख हुन पुगे ।
दुई ठूला दलबीचमा खेलेर निरन्तर सत्ताको स्वादमा रमाइरेका प्रचण्डले सत्ताविमुख भएको भोलिपल्टदेखि नै प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार ढाल्न निरन्तर प्रयास गरिरहेका छन् ।
‘यो सरकारको जग कमजोर भइसक्यो । अबको कोर्स भनेको कांग्रेससहित शान्ति सम्झौताका सहयात्री दलहरू एक ठाउँमा उभिनु हो,’ प्रचण्डले भनेका छन्, ‘नेपाली कांग्रेसले चाहेअनुसार गर्न तयार छु । हामी कांग्रेसलाई बाहिरबाटै समर्थन गर्न र सरकारमै सहभागी हुन परे पनि उहाँहरूकै भनाइअनुसार गर्न तयार छौं ।’