काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । बामगती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित ठूलो वर्षा भएको हो ।
बागमतीसाथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।