झापा । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइँदै छ ।
प्रसाईंलाई अबको आधा घन्टामा मेची पुल ल्याइने जानकारी उनका दाइ लक्ष्मी प्रसाईंले बताए ।
मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका छन् ।
१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् । उपद्रव मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए ।
स्रोतहरूका अनुसार भने प्रसाईंलाई भारतीय प्रहरीले बिहीबार आसामबाट पक्राउ गरेको हाे । उनलाई आज काँकडभिट्टा नाकाबाट नेपाल प्रहरीको जिम्मा लगाउने तयारी रहेको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ । तर, प्रहरीले प्रसाईं पक्राउ परेको समाचारको खण्डन गरेको छ ।
१५ चैतमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका प्रसाईं प्रहरीले खोजी गर्न थालेपछि भागेर भारत पुगेका थिए । नेपाल प्रहरीले उनलाई पक्राउ गर्न भारतीय प्रहरीको सहयोग लिएको स्रोतको दाबी छ । उनलाई खोज्दै प्रहरीको एउटा टोली पूर्वी नेपालहुँदै आसाम पुगेको थियो ।