काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । अध्यक्षसहित कांग्रेस-एमाले निकट कानून व्यवसायीहरूको प्यानल नै निर्वाचित भएको छ ।
अध्यक्षमा वरिष्ठ अधिवक्ता मिश्र निर्वाचित हुँदा महासचिवमा सोही प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित भएका छन् । मिश्र कांग्रेस र कोइराला एमाले निकट हुन् ।
मिश्रका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले २६२१ र कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपाध्यक्षमा (कोशी) पदम प्रसाद लिम्बू, उपाध्यक्ष (मधेश) अजय शंकर झा, उपाध्यक्ष (बागमती) तेजबहादुर रावल, उपाध्यक्ष (गण्डकी) भूपेन्द्र खनाल, उपाध्यक्ष (लुम्बिनी) कृष्ण प्रसाद पोख्रेल, उपाध्यक्ष (कर्णाली) विवस कुमार बस्नेत र उपाध्यक्ष (सुदूरपश्चिम) सिद्धराज ओझा निर्वाचित भएका छन् ।
उपाध्यक्ष (महिला, खुल्ला)तर्फ सरस्वती श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगत बहादुर कार्की विजयी भएका निर्वाचन समितिले जनाएको छ ।
कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
बार एसोसिएसनको निर्वाचनमा सत्तारूढ कांग्रेस-एमाले निकट वकिल र विपक्षीमा रहेका माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका दल निकट वकिलहरू प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
बारको २७ औं केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा २५ सदस्यमा ५७ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

