काठमाडौँ । सरकारले वार्ता, संवाद गर्न तेस्रो पटक गरेको प्रस्ताव पनि नेपाल शिक्षक महासंघले अस्वीकार गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्ता आउन मंगलबार विज्ञप्ति जारी गरेर आमन्त्रण गरेको थियो ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले शिक्षक प्रतिनिधिहरू वार्ता र संवादमा आउन महासंघलाई आग्रह गरेका थिए ।
शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको महासंघले जनाएको छ ।
यसअघि शिक्षा मन्त्रालयले चैत २१ र २२ मा वार्तामा बोलाउँदा पनि शिक्षकहरूले संवाद आवश्यक रहेको जवाफ दिएका थिए । २१ मा विज्ञप्ति र २२ मा पत्राचार गरेर वार्तामा डाकिएको थियो ।
चैत २० देखि शिक्षकहरू काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् भने २५ देखि उनीहरूले देशव्यापी शैक्षिक आमहडताल घोषणा गरेका छन् ।
उनीहरूले २०८० असोजमा सरकारसँग भएको सहमति अनुसार तत्काल ऐन जारी गर्न माग गरिरहेका छन्।
शिक्षक महासंघले पटक–पटक सरकारले सम्झौता गरेर धोका दिएको भन्दै यसपटकको आन्दोलनलाई ‘अन्तिम लडाइँ’ को संज्ञा दिएको छ।