काठमाडौं । रास्वपाबाट निष्कासित तत्कालीन महामन्त्री डा. मुकुल ढकाल यति बेला सामाजिक सञ्जालमा सकृय छन् ।
दिनहुँ मात्र होइन दिन दुई तीन पटक उनी सामाजिक सञ्जालमा आफ्नो भनाइ राखिरहेका छन् । रास्वपा सभापति रवि लामिछाने पछिल्लो पटक पक्राउ परेसँगै सामाजिक सञ्जालमा ढकालको भनाइ तारन्तार आइरहेका छन् । अधिकांश कमेन्टमा गाली खाइरहेका ढकालले सामाजिक सञ्जाल सजिलैसँग प्रभावित हुन थालिसकेको बताउँछन्।
‘कुनै निश्चित शक्तिले प्रयास गर्ने हो भने, सामाजिक सञ्जाल सजिलैसँग डोर्याउन सक्छ। समाज मनोवैज्ञानिक रूपले कमजोर भइसकेको छ। राजनीतिकर्मी यसबाट जोगिनुपर्छ। समाजलाई कुन दिशा दिने, त्यो निर्णय राजनीतिकर्मीले गर्ने हो, भिडतन्त्रको आधारमा होइन।’ उनले भनेका छन् ।
सामाजिक सञ्जालको आधारमा राजनीति गर्ने समय गएको बताउँदै ढकालले सामाजिक सञ्जालका आधारमा राजनीति गर्यौँ भने हामी सजिलैसँग देशी विदेशी तत्वको नियन्त्रणमा थाहै नपाई पुग्ने बताएका छन् ।
हेर्नुहोस् उनको भनाइ जस्तोका तस्तै
१. अरिङ्गालको भूमरीबाट पार्टीलाई मुक्त गर्ने:
हामीले राजनीति अरिङ्गालहरूले भने अनुसार गर्न छोड्नुपर्छ। यी अरिङ्गाललाई जनता बनाउनु हाम्रो काम हो। नेपालमा भिडको आधारमा धेरै राजनीति भयो। त्यही भिडले एयरपोर्ट चाहियो भन्यो, तर बनेका एयरपोर्टहरू आज चलाउन सकिएको छैन। त्यही भिडले कहिले के मागिरहेको छ, कहिले के। देशको दीर्घकालीन आवश्यकता अनुसार निर्णय गर्नु राजनीतिकर्मीको धर्म हो। छोटो दृष्टिले देशको नीति बनाउनु घातक छ, जुन हामीले भोगिसकेका छौँ। भिडको आधारमा राजनीति गर्नु हुँदैन।
कमेन्ट पढेर कसले के भन्यो, त्यसमा नलाग्नुहोस्। सामाजिक सञ्जाल सजिलैसँग प्रभावित हुन थालिसकेको छ। कुनै निश्चित शक्तिले प्रयास गर्ने हो भने, सामाजिक सञ्जाल सजिलैसँग डोर्याउन सक्छ। समाज मनोवैज्ञानिक रूपले कमजोर भइसकेको छ। राजनीतिकर्मी यसबाट जोगिनुपर्छ। समाजलाई कुन दिशा दिने, त्यो निर्णय राजनीतिकर्मीले गर्ने हो, भिडतन्त्रको आधारमा होइन। सामाजिक सञ्जालको आधारमा राजनीति गर्ने समय गएको छ। कुनै समय हामीले चलायौँ, जित्यौँ। तर त्यसपछि सबैले बुझे कि यो के रहेछ। त्यसपछि अरू शक्ति पनि आए। एकपछि अर्को शक्तिले सामाजिक सञ्जाल कब्जा गरिरहेको छ। मेरो विषय छोड्नुहोस्, अरू विषय हेर्नुहोस्। आज सामाजिक सञ्जाल नियन्त्रणमा छ वा छैन, मनन गर्नुहोस्।
सामाजिक सञ्जालका आधारमा राजनीति गर्यौँ भने हामी सजिलैसँग देशी विदेशी तत्वको नियन्त्रणमा थाहै नपाई पुग्छौँ। आज सञ्जालमा सबैभन्दा बढी विज्ञापन के आउँछ, कस्ता-कस्ता पेज र सामग्रीहरू योजनाबद्ध रूपमा सिर्जना हुन थालेका छन्, यो सबैको विश्लेषण गर्नुपर्छ। त्यसैले, भिडको राजनीति गर्नु हुँदैन। भिडतन्त्र प्रतिको विश्वास हट्नुपर्छ। याद गरौँ, जनताको चेतना अनुसार होइन, जनताको चेतनास्तर बढाउने राजनीतिकर्मीको काम हो।
ठण्डा दिमागले सोच्नुहोस्, सामाजिक सञ्जालको लाइक र कमेन्टको आधारमा गरिने राजनीति छोडिनुपर्छ कि पर्दैन? भिडको आधारमा गरिने राजनीति त भेँडाको राजनीति जस्तै हो।
भिडको राजनीति छोड्दै गएपछि दोस्रो बुँदा त्यसपछि भनौँला।