सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

काठमाडौं उपत्यका आज पनि विश्वको पहिलो प्रदूषित शहर

बुधबार, चैत्र २७ २०८१

काठमाडौं । काठमाडौं उपत्यकामा विगत दुई सातादेखि वायु प्रदूषण मानव स्वास्थ्यका लागि खराब रहँदै आएको छ ।

वायु गुणस्तर मापन गर्ने आइक्यू एअरले बिहान सवा ७ बजे गरेको मापनअनुसार नेपालको राजधानी काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९२ छ । यसलाई अस्वस्थ अवस्था मानिन्छ ।

वायु प्रदूषणका हिसाबले नेपालको काठमाडौंपछि भारतको राजधानी दिल्ली विश्वको दोस्रो नम्बरमा छ । दिल्लीको एक्यूआई १७६ छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनको वुहान शहरको एक्यूआई १७१ छ ।

वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ भने  ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । यस्तै, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, १०१ देखि १५० हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, ५१ देखि १०० मध्यम मानिन्छ।

यसअघि पनि काठमाडौं उपत्यका पटकपटक विश्वका प्रदूषित शहरहरूको सूचीमा पहिलो स्थानमा आउने गरेको थियो।

वायु प्रदूषणका विभिन्न कारणहरू छन्, जसमा सवारी साधनको धुवाँ, उद्योगधन्दाबाट निस्कने धुवाँ, निर्माण कार्यबाट उड्ने धुलो र फोहोर जलाउँदा निस्कने धुवाँ प्रमुख हुन्। साथै, उपत्यकाको भौगोलिक अवस्थिति (कचौरा आकारको) ले पनि प्रदूषणलाई बाहिर जान नदिई यहाँ जम्मा भएर बस्न मद्दत गर्छ।

वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा बासिन्दाहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। श्वासप्रश्वास सम्बन्धी रोगहरू, आँखामा समस्या, एलर्जी र अन्य स्वास्थ्य समस्याहरू बढ्दै गएका छन्।

जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ ।