सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

मंगलबार, चैत्र २६ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोटका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताए ।

विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरे । शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ । उहाँहरुले किन दुःख पाउनुभएको हो रु उहाँहरु कुराकानीका लागि आउनुहोला । हामी यथोचिच ढंगले माग सम्बोधन गर्छौँ । हामी संक्रमण कालमा छौँ र केही केही तत्वहरु छन् आगजनी, हिंसा हत्या, तोडफोडका प्रवृत्ति पनि छदैछन् । केही केहीले कानून संविधान मान्दौनै भनेका पनि हामीले सुनेकै छौँ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकार भए पनि अनावश्यक आन्दोलन उचित नभएको बताए ।