काठमाडौं । नेपाल बार एशोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका लागि आज निर्वाचन हुँदैछ ।
मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
बार अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर विजयप्रसाद मिश्र र व्यावसायिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
बारको अध्यक्ष पदका लागि अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशिष पौडेलले पनि उम्मेदवारी दिएका छन् ।
निर्वाचनमा मिश्र र श्रेष्ठले फरक–फरक प्यानल बनाएका छन् । न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।
मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदानका लागि ९ हजार ९५७ रहेका छन् । बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन् । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।