काठमाडौं । राजावादी आन्दोलनका जनकमाण्डर बनाइएका दुर्गा प्रसाईंले काठमाडौंबाट भाग्न प्रयोग गरेको स्कोर्पियो गाडी प्रहरीले इटहरीमा फेला पारेको छ । प्रहरीले प्रसाईंको उक्त गाडी काठमाडौं ल्याइसकेको छ ।
उपत्यका प्रहरी कार्यालयले प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी इटहरीमा फेला पारिएको प्रहरी जनाएको छ ।
त्यसदिन मुख्य कमाण्डर सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेलेर निधेषित क्षेत्र तोडेका थिए । आफैं गाडी चलाउँदै गाडीमा उनी अघि बढेका थिए ।
बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो चढेर उनी गत शुक्रबार आन्दोलनबाट भागेका थिए । एक घरको सटर भित्र लुकेर बसेका उनी आफ्ना सुरक्षा दस्ताको घेरा भित्रबाट उक्त गाडीमा चढेर भागेका थिए । त्यसपछि उनी फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले खोजिरहेका बेला उनको गाडी भने फेला परेको हो ।
उक्त गाडी इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गाडी धनीलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरी गरेको छ । तर, उनी आफैंले भने केही दिनअघि सामाजिक सञ्जालबाट आफू काठमाडौंकै एक मन्दिरमा सुरक्षित रुपमा बसेको बताएका थिए । तर, उनी देखिएको उक्त मन्दिर नेपाल नभएको प्रहरी निष्कर्ष छ ।
जनकमाण्डर भनिएका दुर्गा प्रसाईंको खोजी जारी छ । उनीविरुद्ध व्यक्ति हत्या आरोपमा समेत अनुसन्धान गर्ने प्रहरी तयारी छ ।