सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

‘स्टण्ट’मा बढी ध्यान दिँदा काठमाडौं महानगरका मेयर बालेनविरुद्ध विद्रोह, उपमेयर सुनिताले देखाइन् परिपक्वता

शुक्रबार, चैत्र २२ २०८१

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन साहको यतिबेला आलोचना सुरु भएको छ ।

बिहीबार गुरागाईंलाई कर्मचारी र वडाध्यक्षले ३ महिना १४ दिनपछि कार्यालयमा छिराएर हाजिर गराए।

महानगर प्रमुख बालेनको निर्देशनमा नगर प्रहरीको टोलीले गुरागाईलाई कार्यालय प्रवेश गर्न रोक लगाएको थियो । नगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि महानगर उपप्रमख डंगोलसहित केही जनप्रतिनिधि र कर्मचारीहरूले उनलाई कार्यालय प्रवेश गराएका थिए । उनीहरूले ढोका फोडेर गुरागाईंलाई कार्यालय प्रवेश गराए ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंकाे हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि उनले हाजिरी गर्न पाएका थिएनन्। नयाँ हाजिरी कपी बनाएर उनलाइ हाजिरी गराइयाे ।

गुरागाईँलाई कार्यकक्षमा प्रवेश गर्नबाट रोकिएपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोलको अध्यक्षतामा वडाध्यक्ष, कार्यपालिका सदस्य र उच्च अधिकृतहरूको बैठक बसेको थियो । वडाध्यक्षहरूले समेत मेयर साहले समस्या समाधानमा भन्दा पनि ‘स्टण्ट’मा बढी ध्यान दिँदा समस्या भएको बताएका थिए । बैठकले नियमित कार्य सञ्चालन गर्ने निर्णय गरेपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न गएका थिए ।

प्रवक्ता नविन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरे।

नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गरेपछि उनले मेयरको मौखिक आदेशमा लगाएको बताएका थिए।

साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर नियमित तलबसमेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । मेयर बालेनको अहम्मताले हजारौँ कर्मचारी र लाखौँ काठमाडौंबासीले दुःख पाएको भन्दै उनीहरू उनीविरुद्ध खनिएका थिए। क्यान्सर पीडितलाई समेत समयमा पैसा दिन नसकेको बताउँदै उनीहरुले फेसबुकमा स्टाटस लेखेर भन्दा समस्या समाधान तिर लाग्न बालेनलाई सुझाव दिएका थिए । गुरागाईँ कार्यालय पुग्दा कर्मचारीहरूको ठूलो समूहले बालेनविरुद्ध नाराबाजी गरेका थिए ।

महानगरमा तनाव भइरहँदा मेयर साह भने अनुपस्थित थिए ।

बालेन कार्यालयमा नभएपछि स्थितिलाई साम्य पार्न उपमेयर डंगोल अग्रसर भएकी थिइन् । त्यसक्रममा वडाध्यक्षहरुलाई राखेर छलफल गरिरहेको ठाउँमा उनले पाण्डेलाई सोधेकी थिइन्, ‘फेरि यो ढोका थुन्ने वित्तिकै भिडन्त हुन्छ, त्यो फेरि गर्ने कि नगर्ने ? त्यसो होइन भने अब व्यवस्थापन गर्ने हो कि नगर्ने ।’

गत ७ पुसदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । काठमाडौंको भ्युटावर निर्माणका विषयमा गुरागाईँलाई महानगरले निलम्बन गरेको थियो । मेयर साहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारबाही गर्न छानविन समिति बनाएका थिए । साहले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईँले गत पुस ८ गतेदेखि हाजिर गर्न पाएका थिएनन् ।  गुरागाईंलाई हटाएर नयाँ कार्यकारी अधिकृत पठाउन बालेनले गरेको आग्रह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्वीकार गरेको थियो । त्यसपछि बालेन र संघीय सरकारबीच विवाद चर्केको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय पुगेर हाजिर गरेसँगै कर्मचारीका समस्या समाधान हुने अपेक्षा गरिएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले पुस ८ गतदेखि प्रमुख प्रशासकीयविहीन भएको अवस्था बिहीबार आएर अन्त्य भएको बताए । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले हाजिर गरेसँगै आगामी दिनमा सहज रूपमा सेवा प्रदान हुने र कर्मचारीका समस्यासमेत समाधान हुने विश्वास व्यक्त गरे । उपमेयर डंगोलको नेतृत्वमा बसेको काठमाडौं महानगरको आकस्मिक बैठकले सय दिनदेखि रोकिएका आर्थिक गतिविधिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

महानगरभित्र विवाद भइरहेका बेला मेयर बालेन भने काभ्रेको पाँचखालमा रहेको समाचार बाहिरिएका थिए । साहको सचिवालय स्रोतका अनुसार, बालेन बुधबार साँझ नै धुलिखेलतर्फ गएका थिए ।