काठमाडौं । नेपाल शिक्षक महासंघले आज (बुधबार)देखि अनिश्चितकालीन सडक आन्दोलनको घोषणा गरेको छ ।
गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
पहिलो चरण अन्तर्गतको अन्तिम कार्यक्रमको रूपमा गत फागुन २४ गते काठमाडौंमा बृहत् सडक आन्दोलन सभा सम्पन्न भएको थियो ।
‘दोस्रो चरणअन्तर्गत २०८१ फागुन २७ गतेबाट २०८१ चैत ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना गरियो भने चैत ७ गतेदेखि चैत १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन गरिएको थियो ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ ।
आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुने उनको दाबी छ ।
आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।