काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर माओवादी केन्द्रसहित प्रतिपक्षीहरुले संसद् अवरुद्ध गर्नु उचित नहुने बताएका छन् ।
बिहिबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु पनि उचित नहुने बताए । ‘अब यस पछाडिको विषय के आउँछ अन्तिममा भने संसद् प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भनेको छ । यसबारेमा मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो । सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद् अवरोध गरिरहने कुरा उचित हुँदैन ।’
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर गलत गरेको भएपनि त्यो अब अदालतको विषय भएको उनको भनाइ थियो ।