सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कुलमान हटाएकाे विराेधमा संसद्मा सशक्त विरोध गर्ने विपक्षी दलहरूकाे निर्णय

बुधबार, चैत्र १३ २०८१

काठमाडौँ । गणतन्त्र पक्षधर विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् ।

सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सन्तोष परियारले जानकारी दिए ।

उनले भने, ‘पछिल्ला गतिविधि र सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा संसदमा भएका विपक्षी दलहरुको बैठक बस्यौँ । मुख्यतः सोमवार राति भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुन अलोकतान्त्रिक तरिकाले, दुई तिहाईको दम्भका साथ पार्टीहरुको सरकारले गलहत्याउने काम गरेको छ । अनुशासन, विधि भन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो । त्यस निर्णयबिरुद्ध सदनमा आवाज उठाउनेछौँ । सदनमा प्रश्न गर्ने र त्यस कार्यको बिरोध गर्नेछौँ ।’

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी), माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत थिए । सरकारको कार्यशैलीले व्यवस्थाविरोधी शक्ति चलमलाउन थालेको भन्दै उनीहरू छलफलमा जुटेका थिए ।

आज संसदका दुवै सदनको बैठक बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउँसो १ः१५ मा राष्ट्रियसभा बैठक बस्नेछ ।

पटकपटक मन्त्रालयस्तरबाट स्पष्टीकरण सोध्दा घिसिङले मन्त्रालयलाई त्यसको अधिकार नरहेको बताएपछि गत फागुन २१ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सफाइ पेस गर्ने मौका दिइएको थियो ।

घिसिङले आफूले कुनै गलत काम नगरेको दाबीसहित सफाइ पेश गरे पनि त्यो चित्तबुझ्दो नभएको भन्दै चैत ११ गतेको मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।
कुलमानलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । शाक्यले मंगलबार पदभारसमेत ग्रहण गरिसकेका छन् ।