काठमाडौं । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन् ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो ।
सरकारको निर्णयसँगै मंगलवार साँझ शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेका हुन्।
कार्यभार सम्हाल्दै उनले सरकारले पुनः नियुक्ति गरेसँगै आफूले न्याय पाएको महशुस भएको बताए ।
उनले आफ्नो अनुभव र दक्षतालाई अब पुनः शुरु गर्ने बताए । उनले विद्युतको क्षेत्रमा अहिले केही ठूला चुनौतिहरु रहेको भन्दै बाहिर सबै ठिक रहेको देखिएपनि भित्र धेरै समस्या रहेको बताए । यसलाई सबै मिलेर समूहको रुपमा समाधान गर्ने उनले बताए । व्यक्ति भन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर गगरे । लोडसेडिङको कुरा हल्ला मात्रै भएको र हुन नदिने प्रतिवद्धता जनाए। उनले लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै रिजल्ट देखाउने दाबी गरेका हुन् ।
उनले भने, ‘२०७७ सालमा पनि लोडसेडिङ हुन्छ भनियो । त्यसबेला मैले डाटा लगेरै स्पष्ट पार्नु परेको थियो । र, आजका दिनमा पनि त्यो अवस्था कायमै छ । लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्रै हो । मैले एक हप्ता भित्रमै लोडसेडिङ हुँदैन भनेर रिजल्ट देखाउँछु । उद्योगमा मात्रै लोडसेडिङ भइरहेको छ । यो पनि म कम गर्छु ।’
उद्योगधन्दामा भइरहेको लोडसेडिङ कम गर्ने उनको भनाइ थियो ।
उनले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाए ।