काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते नै काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरिरहेका बेला राप्रपाले अलग्गै आन्दोलन घोषणा गरेको हो ।
राप्रपाले आगामी चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको आन्दोलन मूल समितिको बैठकले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनका अनुसार आगामी वैशाख ७ गतेबाट निरन्तर रूपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।
‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने । त्यस्तै, राजसंस्था हिन्दूराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा राप्रपाले समर्थन गर्ने पनि उनले बताए। ‘राजसंस्था हिन्दूराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुनुपर्यो त्यसमा समर्थन गर्ने,’ लिङ्देनले भने । आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गरिएको उनले बताए ।
यसअघि यो एजेण्डामा अरूले गर्ने आन्दोलनमा सहभागी नहुने बताइरहेको राप्रपाले हाल आफ्नो नीति परिवर्तन गरेको हो । यसअघि चैत १५ गते गणतन्त्र र राजसंस्था पक्षधर शक्ति प्रदर्शनमा उत्रिने तयारीमा छन् । गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिएको छ ।
प्रसाईं नेतृत्वको समूहले चाहिँ काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्नेबारे प्रशासनलाई जानकारी गराएका छन् । तर, उनीहरूको प्रदर्शन स्थलबारे यकिन भइसकेको छैन । चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
प्रसाईं महाअभियान’ले पनि त्यसैदिन तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ । समाजवादी मोर्चाले भृकुटीमण्डपमा र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्नेबारे जानकारी गराएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ । सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ जिल्ला प्रशासन कार्यालयसँग समन्वय नगरे पनि उनीहरूले प्रसाईंसँगै संयुक्त रूपमा प्रदर्शनको तयारी गरेका छन् ।