काठमाडौं । नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहने दृढता व्यक्त गरेको छ ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसङ्गतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ विश्वास व्यक्त गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको पूर्ण कार्यान्वयन गर्दै संविधानप्रति पूर्ण प्रतिवद्धता जाहेर गर्ने निर्णय गरेको बताए ।
उनले संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने काँग्रेसको विश्वास रहेको बताउनु भयो । बैठकले ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ फेरि पनि धेरै क्याम्पसहरुमा विजयी भएको र विजयी हुनेहरुलाई धन्यवाद दिने निर्णय गरेको बताए ।
उनले भने, ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ, यसप्रति पूर्ण प्रतिवद्धता जाहेर गरेको छ । यस संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने पनि विश्वास व्यक्त गरेको छ । कार्य सम्पादन समितिका सदस्य नेताहरुले आफ्ना दृष्टिकोण राख्नुभएको छ । स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ फेरि पनि सबैभन्दा ज्यादा ठाउँ, सबैभन्दा धेरै क्याम्पसहरुमा जित्न सफल भएको छ । त्यसमा विजयी भएका नेपाल विद्यार्थी संघका उम्मेदवारहरुलाई बधाई दिएको छ । शुभकामना दिएको छ । संगठन सम्बन्धी सक्रिय सदस्यता सम्बन्धमा, जनसम्पर्क समितिको विषय पहिला पनि निर्णइ गरेका थियौँ, त्यो परिमार्जन गर्ने निर्णय भएको छ ।’
काँग्रेसले बैठकमा समसायिक राजनीतिक विषयमा पनि छलफल गरेको छ । सरकारले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने, जनताका आवश्यकता पूरा गर्न कमजोरी गर्न नहुने बारेमा पनि छलफल भएको बताए ।