काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।
पार्टीको शुक्रबार र शनिबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो। सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको संयोजक चौधरी जानकारी दिए ।
नाउपाको केन्द्रीय समितिको बैठकमा प्रायः सबै सदस्यहरूले एकीकरणको पक्षमा धारणा राखेका छन् । बैठकमा एकीकृत पार्टीको अध्यक्षका रूपमा डा सिके राउतलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो ।
हाल प्रतिनिधि सभामा जनमत पार्टीका ६ र नाउपाका चार सांसद छन् । एकीकरणपछि १० सिटसहित संसद्को छैठौँ ठूलो दल बन्नेछन् । वर्तमानमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि १० सिट नै रहेको छ । तर, समाजवादी पार्टी राष्ट्रिय दल बन्न सकेको छैन ।
तराई–मधेसको सबैभन्दा ठूलो दलको रूपमा चिनिने जसपा विभाजन भइसकेको अवस्थामा नागरिक उन्मुक्ति र जनमत पार्टीको एकतापछि तराई–मधेसको प्रमुख राजनीतिक शक्ति बन्ने निश्चित जस्तो देखिन्छ ।