काठमाडौं । राप्रपा र राप्रपा नेपालले अघि सारेको संवैधानिक राजतन्त्र भित्र नरहने मनसायका साथ पूर्व राजा ज्ञानेन्द्र शाहकै इच्छा मुताविक राजसंस्था पुनस्र्थापनका लागि छुट्टै समिति बनाएको चर्चा छ ।
परिणाम स्वरुप दुई राप्रपाका अध्यक्षलाई पछि पार्दै सोमबार ८६ वर्षिय नेता नवराज सुबेदीको कमाण्डमा राजसंस्था पुनस्र्थापनका लागि समिति बनाइएको छ ।
फागुन ७ गते पूर्वराजाको सन्देशपछि उत्साही राजावादीले फागुन २५ गते काठमाडौंमा उनलाई स्वागतमा उत्रिएपछि राजावादीहरु बीच नै राजाको काे बढी विश्वासिलो बन्ने भन्नेमा होडबाजी चल्यो । राप्रपालाई मात खुवाउने गरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजाकै सवारी र अभिवादन जस्तै गरी गाडीमा सवार भए ।
यसबीच राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजतन्त्रको चाहना राख्दै आम राजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरे । तर, उनीहरुलाई पूर्वराजाले विश्वास नगरेकैले सुबेदीकाे नेतृत्वमा नयाँ समिति बनाइएको चर्चा छ ।
पूर्वराजा ज्ञानेन्द्रले संवैधानिक राजतन्त्र अन्तर्गत हालका राष्ट्रपतिको स्थानमा भन्दा फरक भूमिकामा आफू रहने इच्छा व्यक्त गरेकै कारण यो समिति बनेको स्रोतले बतायो ।
यसैकारण निर्मल निवासले राप्रपालाई ‘बाइपास’ गरेर नवराज सुबेदीलाई एकीकृत आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।
०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले पूर्वराजा शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको नेताहरूको भनाइ छ ।
हाल आएर पूर्वराजा ज्ञानेन्द्रले उनलाई अगाडि सारेर राजा पुनर्स्थापनाको अभियान अघि बढाउने प्रयास गरेपछि सो अभियानमा संलग्न प्रमुख नेताहरू राजेन्द्र लिङ्देन, कमल थापा, ज्ञानेन्द्र शाही लगायत असन्तुष्ट बनेका छन्। उनीहरूले सुवेदीलाई अगाडि सार्नुको विरोध गर्दै अभियान छाड्ने चेतावनी दिएका छन् र पूर्वराजालाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
यता सुवेदीको राजावादी मोर्चामा गएको भन्दै राप्रपा नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणाको पार्टीभित्र आलोचना भएको छ । मंगलबार बसेको राप्रपा बैठकमा अध्यक्ष लिङ्देनले दलीय व्यवस्थामा दलको विकल्प कुनै समूहले लिन नसक्ने भन्दै त्यस्तो प्रयासमा किन समन्वय नगरी गएको भन्दै मिश्र र राणामाथि प्रश्न उठाएका थिए। अधिकांश सहभागीले पार्टी नेताहरु आ–आफ्नो शैलीमा चल्न थालेको आलोचना गरे । उनीहरुले मिश्र, राणा लगायतलाई संवेदनशील एजेन्डामा जथाभावी नगर्न चेतावनी पनि दिएका छन् ।
सुवेदीलाई आन्दोलनको नेतृत्व दिइएकामा लामो समयदेखि राजसंस्थाको वकालत गर्दै आएका राजनीतिक दलहरू असन्तुष्ट बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्षले समितिमै बस्न अस्वीकार गरेका छन् ।
सुवेदी नेतृत्वको ११ सदस्यीय समितिमा सदस्य राखिएका राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापाले असन्तुष्टि जनाएका हुन् । आफूूहरूसँग छलफल नै नगरी समिति बनाइएको भन्दै लिङ्देनले असन्तुष्टि जनाए ।
दुर्गा प्रसाईंलाई अघि सारिएकोमा पनि उनको असन्तुष्टि छ । प्रसाईंले पनि लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालमाथि रूखो आलोचना गर्दै आएका छन् । फागुन २५ को प्रदर्शनमा अग्रपंक्तिमा देखिएका प्रसाईंले फागुन २७ मा पत्रकार सम्मेलन गरी लिङ्देन र थापालाई ‘माहोल बनेपछि ढोक्सा थाप्न आएको’ भन्दै आलोचना गरेका थिए।
राप्रपाले नै राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई नेतृत्व गर्नुपर्छ भन्ने मत पार्टीभित्र बलियो छ ।
समितिमा सदस्य राखिएका पूर्वमन्त्री केशरबहादुर विष्टले पनि पदमा नबस्ने बताएका छन् । आफूलाई नसोधी समितिमा राखिएको भन्दै उनले असहमति जनाएका हुन् । यस्तै, सल्लाहकार राजेश अहिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।
समितिमा जनआन्दोलन निर्देशक समितिको सदस्यमा केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, कमल थापा, प्रकाशचन्द्र लोहनी, राजेन्द्र्र लिङ्देन, अस्मिता भण्डारी, रमा सिंह र हरिबहादुर बस्नेतलाई राखिएको थियो । रवीन्द्र मिश्र समितिको सदस्यसचिव बनाइएको छ । धवलशमशेर राणालाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको थियाे ।
अध्यक्ष कमल थापाले असन्तुष्टि जनाइरहेकै बेला यता राप्रपा नेपालले भने सनातन हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न समान विचारधारा भएका सबै राजनीतक दल र समूहबीच एकता र सहकार्य हुनुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन संयुक्त जनआन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको हो । कुनै एक राजनीतिक दल वा समूहको प्रयासबाट मात्र यो लक्ष्य प्राप्त हुन नसक्ने राप्रपा नेपालको ठहर छ ।
आफ्नै नेतृत्वमा राप्रपा आन्दोलनमा जाने
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ ।
आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिने भएका छन् ।
मंगलबार कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै अध्यक्ष लिङदेनले राप्रपाले नवराज सुबेदीको संयोजकत्वमा बस्ने समितिको विषयमा पनि टिप्पणी गरे ।
दरबारले नवराज सुबेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि रु भन्ने प्रश्नमा उनले भने, ‘कसले भनेको ? चिठीपत्र कसैले फेला पार्नुभएको छ ? अडियो सडियो, भिडियो छ ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन । राप्रपालाई थाहा छैन । म त्यो समितिमा बस्दिन भनिसकेको छु ।’
यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुशी हुने लिङदेनको भनाइ छ । अन्य राजावादी शक्तिहरुसँग पनि सहकार्य गर्न राप्रपा तयार रहेको उनले बताए ।