८६ बर्षिय नवराज सुवेदीलाई मोर्चा नेतृत्वको जिम्मेवारी
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पक्षमा माहोल बनाउनको लागि आवश्यक गृहकार्य थालेका छन् ।
पोखराबाट काठमाडौं आउँदा २५ फागुनमा स्वागतमा देखिएको जनलहरको कारण ज्ञानेन्द्र हौसिएका छन् ।
राजावादीको नयाँ मोर्चाको नेतृत्वमा यतिबेला रामेछाप निवासी ८६ बर्षिय नवराज सुवेदीले जिम्मेवारी पाएको चर्चा छ ।
ज्ञानेन्द्र शाहले राजावादी पाका नेताहरुलाई आँफै फोन गरेको उच्च स्रोतको दाबी छ । ०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको नेताहरूको भनाइ छ।
उनै सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर राणा, डा प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवलशमशेर राणा, पूर्वमन्त्री केशरबहादुर विष्ट, राजावादी अभियानका दुर्गा प्रसाईंलगायतसँग छलफल गरिसकेको स्रोतको दाबी छ ।
छलफलका विषयवस्तु भने गोप्य राखिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका अवसरमा देशको समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए। त्यसपछि हौसिएको राप्रपालगायतका राजावादी दल तथा समूहले देशका मुख्य शहरमा प्रदर्शन गर्नका साथै ज्ञानेन्द्रलाई विमानस्थलदेखि निर्मल निवाससम्म स्वागत गरेका थिए।
संविधान अनुसार स्वतन्त्र नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्रको पक्षमा माहोल बनाउन राप्रपा बाहेकका शक्तिसमेत लाग्न थालेपछि दलहरुभित्र पूर्वराजाका गतिविधिलाई लिएर चासो बढ्दो छ ।
तीनवटै दलले गणतन्त्रको पक्षमा तथा पूर्वराजाको विपक्षमा एकै ठाउँमा रहेको सन्देश दिन खोजिरहेका छन्। संसददेखि सामाजिक सञ्जालमा उनीहरुले पूर्वराजाका गतिविधिलाई लिएर विराेध गरिरहेका छन् ।