काठमाडौं । राजावादी पार्टीका दुई अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईं बिच्किएका छन् ।
आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनलाई राजसंस्था जानुको सबैभन्दा ठूलो दोष राप्रपाको रहेको आरोप लगाए । २०७२ मा उनीहरुले हस्ताक्षर गरेकै कारण राजसंस्थाको अन्त्य भएको उनको आरोप थियो ।
प्रसाईले आफूले तीन वर्ष लगानी गरेर राजा आउने माहोल बनाएपछि ‘धमीलो पानीमा माछा मार्न’ उनीहरु आएकोसमेत बताए ।
‘अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?’ उनले भने ।
थापा र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे । ‘चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे ! आउनुपर्यो रे । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु ।’
उनले साँच्चै राजसंस्था स्थापना गर्ने आन्दोलन गर्ने हो भने सांसद पदबाट राजीनामा गरेर आउन चुनौतीसमेत दिए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह गरे ।
‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्, म अर्जुनको भूमिकामा बाण चलाउँछु ।’
उनले कसैले पनि अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे ।
‘म राजासंगै मिलेर काम गर्न चाहान्छु, हलीसंग मिलेर सडक आन्दोलनमा किमार्थ जान्न , सबैलाई चेतना भया ।’ उनले भनेका छन् ।
पूर्वराजा शाह आइतबार पोखराबाट काठमाडौं फर्किंदा त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म हजारौं शुभचिन्तकले स्वागत गरेका थिए ।
उनीहरुबीच अहिले त्यसको श्रेयलिन तछाडमछाड छ ।