काठमाडौं । हिन्दु धर्मशास्त्रमा बार अनुसार विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ। आज मंगलबार भगवान गणेशको पूजाआराधना गर्ने दिन हो।
हिन्दु धर्मावलम्बीले मंगलबार गणेश भगवानको पूजा गर्दछन्। ज्योतिषशास्त्र अनुसार मंगलबारलाई भगवान गणेशको बारका रुपमा मानिन्छ।
मंगलबारका दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिनको व्रतमा बिहानको खाना खान नहुने र साँझमा नुन खान नहुने मान्यता छ।
मंगलबार खासगरी धेरैजना व्यक्तिहरु गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने चलन छ ।
सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।
यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।
ब्रतको दिन सचेतन, स्वार्थहीन, शारीरिक र मानसिक रुपमा त्याग हुन जरुरी हुन्छ । ब्रतको पूरैदिन यो ख्याल राख्नुहोस् कि, तपाई मानसिक र अध्यात्मिक विकासका लागि ब्रत गरिरहनु भएको छ । यदि तपाई ब्रत बस्ने आफ्नो संकल्प पूरा गर्नु भयो भने तपाईको आत्मविस्वास दृढ बन्दै जान्छ । सधै ख्याल राख्नुहोस् ब्रतको विशेष दिनमा अन्य मानिसहरुसँग विशिष्ट र मैत्रीपूर्ण तथा सार्थक व्यवहार गर्न जरुरी हुन्छ ।