काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एमव् प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले लगाएको आरोपको खण्डन गरेका छन् ।
हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजित प्रदर्शनमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको राखिएका विषयमा शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको आरोप लगाएपछि रिमालले खण्डन गरेका हुन्।
राप्रपा सांसद शाहीले लगाएको आरोप खण्डन गर्दै रिमालले ‘मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन’ भनेर लेखेका छन्।
आफ्नो पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्ने गरेको भन्दै शाहीको आरोपको खण्डन गरेका हुन् ।
रिमालले सामाजिक सञ्जालमा लेख्दै डिसइन्फरमेसनको सहारामा एक्कासी मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै भएको बताएका छन्। उनले भने, ‘यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५-५ चोटी एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवाल/जवाफ गर्नु छैन। कसले कहाँ के गर्दैछ, समाचार त आएकै छ नि!’
रिमालले फेसबुकमा लेखेका छन्-
शाहीले आज सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ।’
योगी आदित्यनाथ र पूर्वराजाको फोटो राखिएको ब्यानर प्रकरणमा नयाँ खुलासा भएको छ। सो ब्यानरमा स्पष्ट रूपमा नाम उल्लेख गर्दै प्रायोजन गर्ने व्यक्ति प्रदीप विक्रम राणा रहेको पुष्टि भएको छ। राणा कुनै समय राप्रपाका नेता थिए र २०७३ सालको महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापासँग प्रतिस्पर्धा गरेका थिए।