काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ मा पूर्वराजाको सन्देशपछि हौसिएका राजवादीहरू आइतबारको एयरपोर्ट बाहिर देखिएकाे जमातले थप उत्साही भएका छन् ।
आइतबार पोखराबाट ज्ञानेन्द्र शाह काठमाडौं भित्रिदाँ उनको स्वागतमा हजारौं समर्थक एयरपोर्टदेखि उनको निवाससम्म लावालस्कर लागे। राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपाका अध्यक्ष कमल थापा, दुर्गा प्रसाईं लगायतका व्यक्तिहरु समेत एयरपोर्टको गेटसम्म पुगेका थिए । सडक दिनभरजस्तो अस्तव्यस्त बन्न पुग्यो ।
विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) अगाडि ज्ञानेन्द्र शाहका समर्थकहरूको भिड जम्मा भएको थियो । उनीहरूलाई रोक्न सडकको दुवैतर्फ सुरक्षाकर्मीहरू तैनाथ गरिएका थिए । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरू खटाइएको थियो । पूर्वराजा शाहको स्वागतमा विभिन्न दल र समूहहरू सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको थियो । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरूलाई हाई अलर्टमा राखिएको थियो ।
औपचारिक अन्त्यपछि आइतबार पहिलोपटक राजतन्त्रको पक्षमा सबैभन्दा धेरै मानिस सडकमै उत्रेर पुनःस्थापनाको पक्षमा आवाज बलियो बनाएका छन् । राजतन्त्र पुनःस्थापनाको पक्षमा आवाज बलियो बन्दै जानुका पछाडि क-कस्काे हात छ भनेर पनि विभिन्न आशंका व्यक्त्त भएका छन् । १५ वर्षअघि नै मासिएको राजतन्त्र बौराउने कथित प्रयास हुन थालेको भन्दै देशीविदेशी शक्ति केन्द्रहरुको चलखेल हुन थालेको भन्दै राजनीतिक दलहरु आक्रोशित भएका छन् ।
राजावादीको आइतबारको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रसँगै भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन हुनुले बढी आशंका जन्माएको दलहरुले बताउँदै आएका छन् । पूर्वराजा ज्ञानेन्द्र पटकपटक योगी आदित्यनाथसँग भेट्दै आएका छन्।आदित्यनाथको तस्बिर मुन्तिर ‘राजसंस्था पुनःस्थापना गरौं’ लेखिएको थियो। यसलाई लिएर गणतन्त्र पक्षधर दलहरुले यो उक्साहट उत्तैबाट भएको हुनसक्ने विचार व्यक्त गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढेको भन्दै गणतन्त्रवादीहरु आक्रोशित बनेका छन् । प्रमुख दलका शीर्ष नेताहरूले पूर्वराजा शाहलाई पुनः गद्दीमा फर्कने सपना नदेख्न चेतावनी दिँदै सामन्ती राजतन्त्रको पक्षमा जनता कुनै हालतमा नलाग्ने दाबी गरिरहेका छन् ।
हिजोमात्र पनि प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र लाई खुला राजनीतिक प्रतिस्पर्धामा स्वागत गर्न सकिने तर, राजा मान्न नसकिने भन्दै धेरै नसल्बलाउन सुझाव दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अघिल्लो दिन दिएको वक्तव्यले आफू छक्क परेको बताउँदै प्रधानमन्त्री ओलीले पूर्वराजालाई सक्रिय राजनीतिमा स्वागत गर्न आफू तयार रहेको तर पूर्व राजाले अहिले देश बर्बाद भयो, साथ देउ सम्हाल्छु भनेको विषयमा भने आक्रोश प्रकट गरे ।
हिजाे नै राष्ट्रियसभामा समेत पूर्वराजाको सक्रियताप्रति गम्भीर प्रश्न उठाइएको छ । माओवादी केन्द्रसहित अन्य दलले राष्ट्रियसभामा ज्ञानेन्द्र शाहको कदममा अनेक प्रश्न गरे ।
एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरु कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरिन् । उनले प्रतिगामी तत्वहरु संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको, मुलुकभर अनावश्यक नाराहरु गुञ्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताइन् ।
माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाए । उनले विश्वका धेरै देशहरुमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताए । उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।
पछिल्ला दिनहरुमा गणतन्त्रवादी दल र नेताहरुले पुर्वराजाको सक्रियतामाथि अनेक प्रहार गरिरहेका छन् । गणतन्त्र, संघीयता, समावेशिताजस्ता परिवर्तनका मुद्दामा आँखा लगाए पूर्वराजाको सुविधा खोस्नेसम्मको चेतावनी दलका शीर्ष नेताहरूले दिइरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजाले मूर्खता देखाए अहिले पाएको सेवासुविधा पनि खोस्ने चेतावनी दिएका छन् ।
‘मैले पहिले पनि भेनेको थिएँ, ज्ञानेन्द्रले विगतमा पनि मूर्खता गरेका हुन्। फेरि पनि अर्को मूर्खता गरेर पाएको पनि सबै सखाप नपारून भन्ने चाहन्छु । कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएर हामी उदार बनेका थियौँ । जबरजस्ती गर्न खोजिए नेपाली जनतालाई मान्य हुँदैन।’ उनले भनेका छन् ।
प्रमुख राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै आएका छन् । यस परिवेशकै बीच गृहमन्त्री रमेश लेखकले पनि पूर्वराजालाई धेरै नहौसिन चेतावनी दिएका छन् ।
गृहमन्त्री लेखकले भने, ‘केही मानिसहरूले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइराखेका छन्, त्यो भ्रमले राजा हौसिन आवश्यक छैन । आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै छ । नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह छ । यसलाई कमजोरीका रूपमा लिए परिणाम राम्रो हुँदैन ।’
राजावादीहरूको चलखेल बढेको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले पूर्वनिर्धारित मधेस केन्द्रित अभियान नै केही समयलाई स्थगन गरेको छ ।
राष्ट्रिय जनमोर्चाले देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता औँल्याएको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरेर गठबन्धनका लागि जोड दिँदै भनेका छन्, ‘राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँच दलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्न सम्भव भएको थियो । तर, प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनविरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ । त्यसैले हामीले सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरू बीच ऐक्यबद्धता कायम हुनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसरी लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरू बीचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुनेछ ।’