काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्यूजिल्याण्डबीच हुँदैछ ।
दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २ :४५ बजेदेखि शुरु हुँदैछ ।
सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुदै छन् ।
च्याम्पियन्स ट्रफीमा भारत र न्युजिल्याण्ड समूह ए मा थिए । भारतले समूह चरणको अन्तिम खेलमा न्युजील्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुनेछन् ।
मार्च २ मा, भारत र न्यूजील्याण्ड बीच दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको थियो जसमा भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको थियो । यस खेलमा वरुण चक्रवर्तीको नेतृत्वमा रहेका भारतीय स्पिनरहरूको बलियो प्रदर्शनका कारण भारतले जित हासिल गरेको थियो । च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल खेल्दै, वरुणले पाँच विकेट लिए र न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त पारेका थिए ।
एकदिवसीय खेलमा भारत र न्यूजील्याण्डको हेड टू हेडको कुरा गर्ने हो भने दुवै देश अहिलेसम्म ११९ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन् । जसमा भारतले ६१ खेल जितेको छ भने न्यूजील्याण्डले ५० खेल जितेको छ । त्यस्तै दुवै देशबीचका ७ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।