काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् ।
घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका हुन् ।
घटना लगत्तै फरार रहेका उनलाई केही समयअघि मात्रै पक्राउ गरिएको मधेश प्रदेश प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई केहीबेरमै आधिकारिक रूपमा सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।
स्थानीय तीन युवकले गत माघ २७ गते बलात्कार गरेको रिंकुले बताएकी थिइन्। त्यसपछि पञ्चायत बसेर बलात्कारको घटनामा मिलापत्र गरिएको थियो।
पञ्चायत बसेर बलात्कारको आरोप लागेका रूपेश मण्डलबाट एक लाख ५० हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरेको थियो।
त्यसको तीन दिनपछि माघ ३० गते राति रिंकु आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।