मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

कांग्रेस सभापतिमा फेरि उठ्ने बताउँदै प्रकाशमानले भने: ‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन’

आइतबार, फाल्गुन १८ २०८१

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको भावि सभापतिमा दाबी पेश गरेका छन् ।

१४औं महाधिवेशनमा सभापतिकाे उम्मेदवार बनेर पराजित भएकादेखि सभापति शेरबहादुर देउवालाई जिताउन सहयोग गरेका उनले आफू त्यो भन्दा तल जाने ठाउँ नरहेको सुनाउँदै भावि सभापतिमा उठ्ने प्रष्ट संकेत गरेका हुन् । ‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन,’ उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ।’

२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा सिंह सभापति उम्मेदवार बनेका थिए। तर ३७१ मत ल्याए। पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः मतदान गरिएको थियो। दोस्रो चरणको मतदानमा भने सिंहले अर्का उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

आफू सभापति भएको खण्डमा पार्टीमा कुनै गुट उपगुट नहुने सिंहको दाबी छ । उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थीकालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले आफू पार्टीको नृतत्व लिन योग्य रहेको सुनाए । ‘मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु’ उनले भने।

सिंहले राजनीतिक स्थायित्व र दिगो सरकार निर्माणका लागि प्रमुख दुई दलबीच सहकार्य भएको बताए।

उनले संसद नचलेका बेला अध्यादेश ल्याउने प्रचलन रहेको बताउँदै सोही अनुसार सरकारले अध्यादेश ल्याएको उल्लेख गरेका छन्। उनले केही दिनभित्रै अध्यादेश पारित हुने पनि जानकारी दिए।

उनले जनचाहना अनुसार संविधान संशोधन गर्दै दिगो र स्थायी सरकार निर्माण गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए।

‘राजनीति स्थायित्व र स्थिरता हुनुपर्यो भन्ने जनताको चाहना हो,’ नेपाल प्रेस युनियन सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले भने, ‘दिगो सरकार चाहियो भन्ने जनचाहना अनुसार प्रमुख दुई दल मिलेर सरकार बनेको हो।’ उनले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेकाले सोचे अनुसार काम हुन नसकेको पनि स्वीकार गरेका छन्।

प्रधानमन्त्रीसँग भएको कार्य सम्पादन मूल्यांकन अनुसार मन्त्रालयहरूले काम गरिरहेको पनि उनले उल्लेख गरे।