मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

महाशिवरात्रि : यस्तो छ पशुपति एरियामा ट्राफिक व्यवस्थापन

बुधबार, फाल्गुन १४ २०८१

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलामा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गरेर उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ ।

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ भने पार्किङ गर्ने ठाउँ पनि तोकिदिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार सिनामंगलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरिएको छ ।यसैगरी पुरानो बानेश्वर, भीमसेनगोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ ।

धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।

वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

साथै पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमान्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले सुरक्षाको कमान्ड गरेका छन् ।