मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यले राजनीतिक वृत्तमा हलचल

बिहिबार, फाल्गुन ८ २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउन सक्रिय हुने प्रष्ट सन्देश दिँदै संघर्षमा उत्रिन आह्वान गरेपछि राजनीतिक वृतमा हलचल मच्चिएको छ ।

राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा सडक र सदनमा आवाज चर्काइरहेका राप्रपादेखि सडकमा कराउँदै हिँड्ने दुर्गा प्रसाईंसम्म हर्षित देखिएका हुन् ।

प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले भिडियोमार्फत् शुभकामना सन्देश सार्वजनिक गरेका थिए । जहाँ उनले देशको भलो होस् भनेर आफूले गद्दी त्याग गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी नठान्न दलहरुलाई कडा चेतावनी दिएका छन् ।

राप्रपाका महामन्त्री तथा सांसद डा धवल समशेर राणाले ज्ञानेन्द्रको हिजोको वक्तव्य सकारात्मक रहेको जनाउँदै स्वागत गरेका छन् । देशको अवस्थाप्रति पूर्वराजाको चिन्तन र सक्रियता प्रशंसायोग्य रहेको उनको भनाई छ ।

‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ् दिन आह्वान भएको छ’, वक्तव्य निकालेर धवलले भनेका छन्, ‘देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु ।’

ज्ञानेन्द्रले जस्तै उनले पनि मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनमा उत्रन आह्वान गरेका छन् । पूर्वराजाको भाषणले राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही पनि अत्यन्तै खुशी देखिएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि देश बचाउन र बनाउन पूर्वराजाबाट भएको आह्वानलाई सकारात्मक रुपमा ग्रहण गर्न आग्रह गरेका छन् । गत चुनावताका लोकतन्त्रवादी बनेका र फेरि राजसंस्थाको पुरानै कित्तामा फर्किएका कमलले भनेका छन्, ‘देश बचाउन र बनाउन राजाबाट सहयोगका निम्ति आह्वान भएको छ । विनाआग्रह पूर्वाग्रह राजाको आह्वानमा सहयोगको हात बढाऔँ ।’

राप्रपाका नेता रविन्द्र मिश्र पनि पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देशप्रति नतमस्तक देखिएका छन् । वैकल्पिक राजनीति छाडेर राप्रपामा मिसिएका र पछिल्लो समय खरो राजवादी बनेका उनले पूर्वराजाको सन्देशलाई १२ बुँदामा व्याख्या गरेका छन् ।

मिश्रले लेखेका छन्, ‘राजाको सन्देशमा सबैले सबैको कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय व्यक्त भएको छ ।’ ज्ञानेन्द्रकै शैलीमा उनले देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै ’राजा’ र राजनीतिक दलहरू एक ठाउँमा आउन अत्यावश्यक रहेको बताएका छन् ।

ज्ञानेन्द्रको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहंपूर्ण ढङ्गबाट लिने र तथानाम गर्ने हो भने राजनीतिमा हुने ‘सिस्टेमिक ओभरहलिङ’ पद्दतिपूर्ण र शान्तिपूर्ण नहुने मिश्रको ठहर छ ।

आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउने मेडिकल व्यावसायी दुर्गा प्रसाईंले पनि राजनीतिमा सक्रिय हुने पूर्वराजाको संकेतलाई उत्साहपूर्ण ठानेका छन् । ‘अब भएन भनेर बस्ने होइन, राजा आफैँले समेत तदारुकता देखाएको यो क्षण हामी सबै जुट्ने बेला हो’, उनको भनाई छ ।

त्यस्तै, राष्ट्रिय शक्ति नेपालले पनि पूर्वराजाको सन्देशको खुलेर स्वागत गर्दै त्यसलाई मन, बचन र कर्मले पूरा गर्ने प्रतिवद्धता जनाएको छ । अध्यक्ष केशरबहादुर बिष्टले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘देशमा शान्ति, समृद्धि र उन्नतिको लागि राष्ट्रिय एकताको प्रतीक राजसंस्थाको अपरिहार्यता छ भन्ने कुरामा हामी दृढ छौँ । यस महान कार्यमा सबै नेपालीको सहयोगका लागि हार्दिक आह्वानसमेत गर्दछौँ ।’