काठमाडौं । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठककाे सुरुमा भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति राष्ट्रिय सभाले दुःख व्यक्त गरेको छ ।
मंगलवारको सभाको बैठकमा राष्ट्रि सभा अध्यक्ष नारायणप्रसाद दाहालले मृतक लम्साललाई न्याय दिन तर्फबाट यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका हुन् । प्रकृति लम्सालको रहस्यमय निधनको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस विषयमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नेछन् ।