खोटाङ । खोटाङको हलेसी बजारमा ग्यास पसल भएको एउटा घरमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो ।
खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । साँझ ६ बजेतिर सुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११:०० बजे नियन्त्रणमा आएको हो ।
आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् ।
आगलागी भएको घरमा हार्डवयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए ।