मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

स्वीकृतिबिना सञ्चालित अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

आइतबार, माघ २७ २०८१

महेन्द्रनगर  । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइलगायत मापदण्ड पूरा नगरी जनकपुरधाममा सञ्चालित निजी अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।

शनिबार जनकपुरधामको मुजेलियाबाट भ्रमरपुराचोकसम्मका २० वटा निजी अस्पतालको अनुगमन गरेपछि उनले स्वीकृतिबिना सञ्चालित अस्पताल आइतबारसम्म आफैँले ताल्चा लगाउन सञ्चालकहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्रीले बहुसङ्ख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिएर सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर सेवा बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले अनुगमन गरेका निजी अस्पतालमा जीवनज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, जनकपुर ग्रान्डी हस्पिटल, रामा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल एपोलो हस्पिटल, श्रीराम हस्पिटल, नयना अस्पताल, अरमान हस्पिटल, मिहिलाल इन्टरनेसनल, सहयोग हस्पिटल, जनकपुर मोडर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, माँ गायत्री मेमोरियल हस्पिटल, म्याक्स हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वस्तिका हेल्थकेयर अस्पताल, लाइफ केयर एन्ड रिसर्च सेन्टर र ओम दीर्घायु हस्पिटल प्रालिमा रहेका छन् ।

मुख्यमन्त्री सिंहले स्वीकृतिप्राप्त भई नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिना सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनी दिए। अनधिकृत रूपले खेलिएका र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी सर्त पूरा नगरेका अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर सरकारको सम्पर्कमा आउन आग्रह गरिएको उनको सचिवालयले जनाएको छ ।

अनुगमन क्रममा मुख्यमन्त्री सिंहले भने, “स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् । आइतबारसम्म अस्पतालका बिरामीलाई अन्य उपचार संस्थामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोेली परिचालन गर्नेछौँ ।” उनले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीलाई समेत कारबाही गरिने उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातसहित दस्तावेज, मापदण्डअनुसार जनशक्तिको सङ्ख्यात्मक उपलब्धता र व्यवस्थापन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता, गुणस्तर र भौतिक संरचनाबारे जानकारी लिएका थिए ।

यसअघि मुख्यमन्त्री सिंहले शुक्रबार मध्यराति जनकपुरधामस्थित मुस्कान अस्पतालमा अनुगमन गरी सेवा सञ्चालन स्वीकृति नलिँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । अस्पताल सञ्चालकले आज उक्त अस्पताल बन्द गरेका छन् ।