मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

विपक्षी दलका नेताको असन्तुलित अभिव्यक्ति !!

प्रचण्डले दिउँसै रात पार्न खोजे : महासचिव पोखरेल

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठितगर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नु जस्तै भएको बताएका छन् ।

विहीबार प्रचण्डले प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर महासचिव पोखरेलले यस्तो बताएका छन् ।

‘सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड र अहिले विपक्षी दलको नेता रहेका प्रचण्ड एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशङ्का उत्पन्न गराएको छ’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् ।

विगतमा आफू प्रधानमन्त्री भएका बेलामा दुरुपयोग भयो भनेर टिकटक नै बन्द गर्ने निर्णय गरेका प्रचण्डले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नु जस्तै भएको उनले बताएका छन् ।

‘सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफर्म नै बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने, अनि त्यसलाई सञ्चालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुँदैन’, पोखरेलको धारणा छ ।

आफ्नै मान्यताका विपरीत प्रचण्डले सामाजिक सञ्जाल नियमन सम्बन्धी संसदमा दर्ता भएको विचाराधीन विधेयकका सन्दर्भमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? भन्दै उनले प्रश्न गरेका छन् । ‘सत्ता गुमाउँदाको छटपटी मात्र कि अरू केही ?’, उनको प्रश्न छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक रहेको बताएका थिए। उनले सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्ने बताए । उनले प्रेसको स्वतन्त्रता पनि विधेयकले नियन्त्रण गर्ने धारणा राखे । विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरवार झुन्ड्याइएको उनको भनाइ थियो ।