काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लागेको छ । सुरक्षा उपकरण किन्दा घुस लिएको निष्कर्षसहित सुनील र दीपक आनन्दविरुद्ध अख्तियारले बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तीन करोड आठ लाख ५० हजार ४०० रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार पौडेलसहित घुस दिने भारतीय नागरिक दीपक आनन्दविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा आर्थिक वर्ष २०७४/७५ मा सुरक्षण सामग्री खरिदका क्रममा तत्कालीन कार्यकारी निर्देशक पौडेलसहितले भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानविनपछि विशेष अदालतमा मुद्दा लगिएको अख्तियारले जनाएको छ ।
अख्तियारले पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दीपक आनन्दको मिलेमतोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आवश्यक सुरक्षण उपकरण खरिदका क्रममा आफैँले प्राविधिक मूल्यांकन गरी सेटिङमा ठेक्का लगाएको ठहर गरेको छ ।
बोलपत्रदाताका रूपमा दुवैले पूर्वयोजनाअनुसार सुरक्षण उपकरण खरिदको ठेक्कामा सुनील पौडेललाई त्यसबेला तीन करोड आठ लाख ५० हजार ४०० रुपैयाँ दिइएको खुलेको छ । त्यसबेला पौडेलले अमरिकी डलरमा २८ हजार घुस लिएको अख्तियारको अनुसन्धानले देखाएको छ । पौडेलले ठेक्का सदर भएको अस्ट्रल कम्प्युटर्स नेपालबाट कमिसनका रूपमा ५.७२ प्रतिशतसमेत गरी जम्मा १२ करोड ८२ लाख ४० हजार भुक्तानी दिएको पनि खुलेको छ ।
प्रतिवादी दीपक आनन्दले पौडेललाई तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस पठाएको अख्तियारले जनाएको छ । त्यहीकारण दुवैजनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकाले भ्रष्टाचार मुद्दा चलाइएको हो । पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा तीन करोड आठ लाख ५० हजार ४०० कायम गर्दै मुद्दा चलाइएको छ । पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका कसुस गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय पनि माग गरिएको छ ।
उता, भारतीय नागरिक आनन्दलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा बिगो तीन करोड आठ लाख ५० हजार ४०० कायम गरी मुद्दा चलाइएको अख्तियारले उल्लेख गरेको छ ।
पौडेलविरुद्ध यसअघि पनि अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी)लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिई रकम निकासा गरेको, तर ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । सोही मुद्दामा विशेष अदालतले सुनील पौडेललाई दोषी ठहर गरेको थियो । पौडेल हाल डिल्लीबजार कारागारमा छन् ।