काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्धनगरले समस्याग्रस्त सहकारीको पैसा नतिर्ने सञ्चालक र ऋणीको सम्पत्ति बिक्री प्रक्रिया सुरु गरेको छ ।
गोरखापत्रमा एक सूचना जारी गर्दै कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको हो ।
२०७६ सालमा समस्याग्रस्त घोषणा गरिएको काठमाडौँको कमलाक्षीस्थित उक्त सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा समितिलाई गएको थियो ।
संस्थाका ऋणी सदस्य एवं सञ्चालकबाट संस्थालाई बुझाउनु पर्ने साँवा, ब्याज, हर्जना, जरिवाना तिर्न बुझाउन पत्राचार एवं पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा समेत नआएको भन्दै उनीरुको सम्पत्ति लिलामी थालिएको हो ।
यसअघि यस्तो सम्पत्ति रोक्का मात्रै गरिएको थियो ।
अहिले संस्थाका अध्यक्ष मीनकृष्ण श्रेष्ठको नाममा रहेको सिन्धुपाल्चोक बाह्रबीसे ७ मा रहेको करिब साढे ६ रोपनी जग्गा लिलामी गर्न लागिएको छ । यसका लागि प्रतिरोपनी ३ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । संस्थाको सञ्चालक समितिका सनलम्बित सदस्य राजेशरत्न शाक्यको १० धुर जग्गा ७ लाख रुपैयाँ न्यूनतम मूल्य कायम गरी बिक्री गर्न लागिएको छ ।
यसैगरी ऋणी सदस्य बलराम भुजेलको धादिङ गजुरीमा रहेको १ रोपनी जग्गा १० लाख ८० हजार रुपैयाँमा तथा सूर्यविनायक १० स्थित चित्तपोलमा रहेको ४ आना जग्गा प्रतिआना १७ लाख रुपैयाँका दरले न्यूनतम मूल्य कायम गरी बिक्रीका लागि तोकिएको छ ।
इच्छुक व्यक्तिले ३५ दिनभित्र गोप्य शिलबन्दी निवेदन पेश गर्नु पर्ने सूचनामा उल्लेख छ ।
सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा ४० सहकारीको ८६ अर्ब ठगी भएको उल्लेख छ । सांसद सूर्य थापा संयोजक रहेको छानविन समितिले ३ महिना भन्दा बढी समय लगाएर प्रतिवेदन तयार पारेको थियो ।
समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको थियाे ।
