चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदै छ ।
बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो ।
हिजो नै आफैँ अदालत उपस्थित भएका लामिछानेको बयान सकिए लगत्तै थुनछेक बहस सुरू गरिएको थियो । वादीका तर्फबाट जिल्ला न्यायधिवक्ता रवि न्यौपाने, सहन्यायधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए । जाहेर वालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि निरन्तर सुनुवाइका लागि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको हो ।
आज बिहीबार १० बजे उपस्थित गराउने गरी जिम्मा लगाइएको थियो ।
आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजोबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।
थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।
दर्ता गरिएको मुद्दामा प्रतिवादीहरूमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका छन् । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा रवि लामिछाने किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचत सहित छ वटा संस्था रहेका हुन् ।
साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिनुभयो । मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएका जीवि राई भन्ने जितेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्त बाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन माग दाबी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । रू ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका वखत पुनःपुरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।
बचत कर्ताहरूलाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम रू ४३ करोड ३२ लाख सात हजार नौ सय २८ दशमलब ७५ रहेको छ । व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असर फ अलि सिद्दिकीबाट रू तीन करोड २० लाख र महेन्द्र भोटी भन्ने शिवबहादुर गुरूङबाट रू दुई करोड ६४ लाख भराइनुपर्ने माग दाबी छ ।