काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि स्थगित गर्न सरकार सहमत भएको छ। यस सहमतिसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो।
ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विरोध गर्दै आएको छ ।
सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ । स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ ।
यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने छ ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगक (सरु) ले हस्ताक्षर गरेका छन् ।
