मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

उमागौरी सहकारीका अध्यक्ष रौनियार कारागार चलान

सोमबार, माघ २१ २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष श्याम रौनियार सहकारी ठगीमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार रौनियारलाई पुर्पक्षका थुनामा पठाउने आदेश गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

पक्राउ पुर्जी जारी भएको एक सय दिनपछि गत सोमबार उनी अदालतमा उपस्थित भएका थिए ।

सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो ।

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।

मंसिर २८ गते मोरङ जिल्ला अदालतले थुनछेक बहसपछि सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत २४ पुसमा अदालतमा उपस्थित भएकी सहकारीको पूर्वसञ्चालक अंजला कोइराला पनि १० लाख धरौटीमा छुटेकी थिइन् ।