मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सूर्यदर्शन सहकारी ठगी प्रकरण : थुनछेक बहसमा आज प्रतिवादीहरूको तर्फबाट बहस हुने

शुक्रबार, पुष १९ २०८१

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत प्रतिवादीका तर्फबाट बहस हुँदै छ।

आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलासमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन् ।

यसअघि मङ्गलवार र बुधवार दुई दिन सरकारी वकिलको कार्यालयका तर्फबाट बहस भएको थियो भने बिहीबार जाहेरवालाका तर्फबाट बहस भएको थियो । एक सय २१ जना जाहेरवालाको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

रास्वपा सभापति लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा सहकारी पीडितहरुको तर्फबाट कानुन व्यवसायीहरु युवराज पराजुली, रामचन्द्र गौतम, वेद बहादुर विष्ट, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र हरि कट्टेलले बहस गरेका हुन् ।

जाहेरवाला तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरुले सहकारी रकम अपचलनमा उच्च पदस्थ व्यक्तीहरुको संलग्नको प्रमाण प्राप्त भएकाले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुनसक्ने भन्दै पुर्पक्षमा पठाउनुपर्ने बताएका थिए ।

उक्त मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस जारी छ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस हुने छ । त्यसपछि न्यायाधीश राईले प्रतिवादीहरुलाई थुना मै रहेर वा थुना बाहिरै बसेर मुद्दा लड्ने भन्ने आदेश दिने छन्।

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए। अन्य प्रतिवादी भने फरार छन्। पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन्।