मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलमाथि ठगीको आरोप

शुक्रबार, पुष १९ २०८१

काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पनि ठगीमा जोडिएका छन् ।

पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारीसमेत गरेको छ ।  पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएको हो ।

पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको पीडितले बताएका छन् ।  पोखरेलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीले बताए । विभिन्न मितिमा आफूबाट पोखरेलले ७ पटक रकम लिएको उनको भनाइ छ ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो । उक्त आदेश पुस ११ मा प्रमाणीकरण भएको थियो ।